विमल पैदल यात्रा गर्दै कालेबुङमा
Manoj Bogati
भोलि गोरूबथान जानेः बन्दमा अब कुनै छुट नहुने – अब अन्तरिमको कुरा आउँदैन-विमल
KalimNews

Gorkha Janamukti Morcha leader Bimal Gurung (C) arrives at Kalimpong (File Pic)
कालेबुङ,13 जनवरी।मोर्चा अध्यक्ष विमल गुरूङ बन्दको तेस्रो दिन दार्जीलिङबाट हिँड़ेर नै कालेबुङ आइपुगे। तिनी बन्दको पहिलो दिनदेखि नै विभिन्न क्षेत्रहरूमा बन्द निरीक्षण गर्न पातलेबासबाट हिँड़ेका थिए भने हिजो तिनी तक्दाहमा बसेका थिए। आज तिनी राजमार्ग निरीक्षण गर्दै कालेबुङ आइपुगे भने भोलि तिनी लाभा हुँदै गोरूबथान पुग्नेछन्।
तिनले राजमार्गमा मूढ़ा लड़ाउने, ढुङ्गामूढ़ा हुने खबर सुनेर यसको निरीक्षण गर्न पैदल यात्रा गरेको जनाए। तिनले भने, मोर्चाको आन्दोलन गणतान्त्रिक हो। बन्दको अवधी राजमार्गमा कुनै पनि अप्रिय घटना हुनुहुँदैन। यसकारण म सम्पूर्ण जनतालाई आह्वान गर्छु कि राजमार्गमा शान्ति बनिरहोस्। बङ्गाल सरकारले अशान्ति गर्न विभिन्न षड़यन्त्र गरिरहेको छ। राजमार्गमा ढुङ्गामूढ़ा गर्ने काम मोर्चाको आन्दोलन बिगार्न बङ्गाल सरकारले गरेको षड़यन्त्र हो।
तिनले टिस्टाका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अझ भने, सिक्किमलाई पूर्ण छुट छ। राजमार्गलाई पूर्णरूपले छुट छ। राजमार्गमा कोही पनि उत्तेजित नहोइदिने,यहॉंबाट कुनै पनि विवाद नहोस्। दङ्गाफसाद नहोस्।
तिनले यसैबेला महत्वपूर्ण तर अस्पष्ट कुरा पनि समर्थकहरूलाई भने। तिनले भने, दिल्लीमा राम्रो काम हुँदैछ। केही दिनमा नै त्यसको फल पाइनेछ। केही दिनमा नै राम्रो कुरा अघि आउनेछ। राम्रो लक्षण देखापरेको छ। यसकारण बन्द गणतान्त्रिकरूपले होस्। सबैले पार्टीको गान्धीवादलाई भुल्नु हुँदैन। तिनले दिल्लीबाट राम्रो लक्षण पाएको कुरा गरेपनि त्यो राम्रो लक्षण के हो स्पष्ट छैन।
तिनले गोर्खाल्याण्डको कुरा नै गरेको हुनुपर्ने अनुमान गरिएको छ। किन भने आज तिनले पत्रकारहरूसित अन्तरिम प्राधिकरणबारे कुरै गर्न मानेनन्। तिनलाई प्राधिकरणबारे प्रश्न गर्दा भने, अब अन्तरिमको कुरा आउँदैन। अब जहॉंसम्म जानुको निम्ति हामी आएका हौं त्यहॉंसम्म जानेछौं। तिनले मोर्चाले प्राधिकरणको मुद्दालाई तिलाञ्जली दिएको अनि अब गोर्खाल्याण्डको निम्ति मात्र कटिबद्ध हुने संकेत दिएका छन्। तिनले गोर्खाल्याण्डको निम्ति नै मोर्चाले तीनचरणको कार्यक्रम गरेको अनि जनताले सफल बनाएकोमा आभार प्रकट गरेका छन्।
यता मोर्चाले डाकेको 12 देखि 15 जनवरीसम्मको बन्दपछि दिएको दुइदिनको छुट अथवा 16-17 जनवरीकोे दिन बङ्ला भाषा बचाउ समितिले सिलगढ़ीमा बन्द डाकेको सन्दर्भमा प्रश्न गर्दा तिनले भने,हामी पनि बन्दमा यो छुट राख्ने छैनौं। बन्द कन्टिन्यू हुनसक्छ।तिनले मोर्चाले बीचबीचमा दिएको छुट अब नदिने आशय प्रकट गरेका छन्। अब मोर्चाको बन्द 27 दिन नै हुने छॉंट देखापरेको छ।
बन्दको असरबारे तिनलाई प्रश्न गर्दा सरकारलाई असर परिरहेको जनाउँदै भने, सरकारले बन्दलाई विथोल्न चहानु नै बन्दको असर सरकारमा छ भनेर स्पष्ट हुनु हो। तिनले पैदल यात्रा आफ्नै नेताहरूलाई पाठ सिकाउन पनि गरेको बताउँदै भने,जनतालाई बन्दमा असुविधा भइरहेको बेला नेताहरूले आराम गर्नु हुँदैन। म बन्दभरि पैदल यात्रा गरेर बन्दको जायजा लिनेछु। तिनले राजमार्गको पूर्ण जायजा पनि लिए भने कालेबुङमा पनि तिनले निरीक्षण गरे। तिनी आज कालेबुङमा नै बस्नेछन्।
यता मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले सरकारलाई अहिले नै असर नगरेपनि विस्तारै असर गर्ने बताए। तिनले भने, हाम्रो काम हो कार्यक्रम गर्नु। सरकारलाई असर परेर नै छोड्छ। यो बन्दद्वारा मोर्चासित जनता छ भनेर केन्द्रलाई बुझाउनु अथवा केन्द्रले मोर्चामा मान्छे छैन भन्नेहरूलाई मूल्याङ्कन गर्नु केन्द्रसित उपयुक्त समय रहेको छ। राजमार्गमा सीआरपीएफ हुले पनि मोर्चालई कुनै असर नपर्ने पनि तिनले भने। डुवर्समा आविपले मोर्चाको बन्दको विरोध नगरेर परिपक्व राजनैतिक आचरण देखाएकोमा आभार पनि तिनले प्रकट गरे। बन्दमा केही घटनाहरू देखापरे पनि पुलिसले साह्रै अत्यचार भने नगरेको तिनले जनाए |